काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका अग्रज नेताहरूलाई सानेपामा स्वागत गर्न आतुर रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् घिमिरेले अब विशेष महाधिवेशन र यसबाट आएको नेतृत्वका विषयमा पक्ष वा विपक्षमा बहस गरिराख्नुको औचित्य नरहने बताउदै गत पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले तत्कालै र सर्वोच्च अदालतले हालै वैधानिकता दिइसकेको उल्लेख गर्दै उनले अब पार्टी एकताबद्ध बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।
नेता पूर्णबहादुर खड्का र शेखर कोइरालाले काठमाडौंमा हालै बेग्लाबेग्लै भेला आयोजना गरेकोप्रति लक्ष्य गर्दै उनले त्यस्ता भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्न भनेका छन्। ‘हामी पार्टीका सम्पूर्ण अग्रज, नेता तथा सबै साथीहरूलाई केन्द्रीय कार्यालय सानेपामा स्वागत गर्न तयार र आतुर छौं। सबै भेला,छलफल यहीँ गरौं र पार्टीको बृहत्तर एकतालाई कमजोर हुन नदिऔं,’ महामन्त्री घिमिरेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्। यतिबेला पार्टी इतिहासको चुनौतीपूर्ण राजनीतिक मोडमा उभिएको पनि उनले बताएका छन्।