काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सार कडाइका नाममा स्थानीय नेपाली नागरिकले भोग्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित ‘ग्रिन टेबल’को पहिलो श्रृङ्खलामा बोल्दै सभापति थापाले सीमा क्षेत्रका बासिन्दाको समस्यालाई सदनमार्फत सरकारको टेबुलमा पु¥याउने प्रतिबद्धता जनाएका छन् ।
सभापति थापाले भन्सारमा गरिएको कडाइले सीमा वरिपरि बस्ने नागरिकहरूको दैनिक जीवनयापनमा नै गम्भीर समस्या देखिएको बताए । भन्सार जाँचका क्रममा सुरक्षाकर्मीबाट हुने व्यवहारले नागरिकको आत्मसम्मानमा चोट पुगेको भन्दै उनले बताए, “सिमानाको छेउमा बस्ने नागरिकहरूलाई अपराधी जस्तो गरी व्यवहार गर्नु उचित हुँदैन“।
भन्सार सुधार गर्ने नाममा नागरिकलाई अनावश्यक दुःख दिने काम नगर्न उनले सरकारलाई सुझाव दिएका छन् । सीमा क्षेत्रका अव्यावहारिक कुराहरूलाई सधैँका लागि बन्द गर्नुपर्नेमा जोड दिँदै थापाले भन्सार प्रशासनमा व्यावहारिक पक्षलाई समेत ख्याल गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस सरकारमै रहेका बेला १०० रुपैयाँभन्दा बढीका सामानमा कर लगाउने सरकारको अव्यावहारिक अडानका विरुद्ध आफ्नै दलको दबाबमा सरकार पछि हट्नु परेको स्मरण समेत उनले गरे । जनताले उठाएका प्रश्न र गुनासा सुन्न सरकार सदैव तयार हुनुपर्नेमा उहाँको जोड थियो ।