काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचन २०८२ मा सर्लाही क्षेत्र नम्बर–४ बाट पराजित भए पनि उक्त क्षेत्र नछाड्ने र जनतासँग निरन्तर जोडिएर रहने बताएका छन्।
बुधबार सर्लाही पुगेका थापाले धनकौलमा आयोजित मतदाता धन्यवाद तथा ‘जरा अभियान’ कार्यक्रममा बोल्दै हारपछि पनि आफू विचलित नभएको बताए। उनले निर्वाचनमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण मतदाता, नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरे। उनले आफू पराजित हुँदा धेरै समर्थक भावुक बनेको उल्लेख गर्दै जनताले दिएको माया र भरोसाले आफूलाई अझ जिम्मेवार बनाएको बताए। सर्लाही–४ को विकास र आगामी सफलताका लागि सधैं सक्रिय रहने उनको प्रतिबद्धता थियो।
थापाले निर्वाचनअघि नै शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्र सुधारका लागि आफ्नो टोलीले अध्ययन र योजना निर्माण सुरु गरिसकेको जानकारी दिए। अब ती योजनालाई निष्कर्षमा पुर्याएर क्षेत्र विकासमा योजनाबद्ध ढंगले अघि बढाइने उनले बताए। प्रतिनिधिसभामा निर्वाचित नभए पनि करिब २३ हजार मतदाताले आफूलाई दिएको विश्वासको सम्मान गर्दै जनप्रतिनिधि झैं काम गर्ने उनको भनाइ थियो। उनले स्थानीय भाषा सिक्ने र गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने योजना समेत सुनाए।