काठमार्डाैँ । मानिसको उमेर बढ्दै जाँदा छालाको प्राकृतिक चमक कम हुँदै जानु सामान्य प्रक्रिया हो। समयसँगै छालाको तन्किने र खुम्चिने क्षमता घट्न थाल्छ, जसका कारण छाला फिक्का र थाकेको देखिन सक्छ। धेरैजसो मानिसले यसको समाधानका लागि विभिन्न क्रिम र लोशन प्रयोग गर्छन्, तर स्वस्थ र चम्किलो छालाका लागि प्राकृतिक उपाय अझ प्रभावकारी मानिन्छ। घरमै सजिलै पाइने केही फलफूलले छालालाई स्वस्थ, ताजा र आकर्षक बनाउन मद्दत गर्छन्।
१. सुन्तला
सुन्तलामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ, जसले छालामा कोलाजेन उत्पादन बढाउन सहयोग गर्छ। कोलाजेनले छालालाई मजबुत र जवान देखाउन मद्दत गर्छ। साथै सुन्तलाको रस वा बोक्रा छालामा प्रयोग गर्दा फोहोर हटेर छाला सफा रहन्छ।
२. स्याउ
स्याउ छालाको स्वास्थ्यका लागि निकै उपयोगी फल हो। यसमा पाइने भिटामिन सी, एन्टिअक्सिडेन्ट र पोटासियमले छालालाई पोषण दिन्छ। नियमित स्याउ सेवनले छालामा प्राकृतिक चमक ल्याउन मद्दत गर्छ।
३. मेवा
मेवामा इन्जाइम, भिटामिन र विभिन्न पोषक तत्व पाइन्छन्। यसले छालालाई नरम, ताजा र स्वस्थ राख्न मद्दत गर्छ। मेवाको गुदी वा दाना पिसेर प्रयोग गर्दा मृत छाला हटाउन पनि सहयोग पुग्छ।
४. खर्बुजा
खर्बुजामा पानीको मात्रा धेरै हुने भएकाले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ। यसमा पाइने भिटामिन ए, सी र लाइकोपिनले छालालाई स्वस्थ राख्नुका साथै बुढ्यौलीका असर कम गर्न सहयोग गर्छ।
५. अनार
अनारमा शक्तिशाली एन्टिअक्सिडेन्ट, ओमेगा फ्याटी एसिड र अन्य पोषक तत्व पाइन्छन्। यसले छालाका कोष पुनःनिर्माण गर्न मद्दत गर्छ र रक्तसञ्चार राम्रो बनाउँछ। अनार प्राकृतिक मोइस्चराइजर भएकाले सुख्खा छालाका लागि पनि फाइदाजनक मानिन्छ। यदि तपाईं चम्किलो, स्वस्थ र आकर्षक छाला चाहनुहुन्छ भने दैनिक आहारमा यी फलफूल समावेश गर्नु राम्रो विकल्प हुन सक्छ। बाहिरी सौन्दर्य सामग्रीभन्दा प्राकृतिक खानपानले दीर्घकालीन लाभ दिन्छ।