काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाइएपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले असन्तुष्टि व्यक्त गरेका छन् ।
खड्काले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उक्त निर्णयलाई “हतारमा गरिएको” र “शुभ संकेत नभएको” टिप्पणी गरेका हुन् ।
उनले पार्टीभित्र एकता आवश्यक रहेको ऐतिहासिक संवेदनशील घडीमा यस्तो कदम चालिनु चिन्ताजनक भएको बताए ।
उनका अनुसार सिटौलाजस्ता अनुभवी र अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचारसमेत पालना नगरी पूर्वजानकारीबिनै हटाइनु दुःखद र अस्वीकार्य छ।
'पार्टी एकताको पहल गर्नुपर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरूबाटै यस्तो निर्णय हुनु स्तब्ध बनाउने विषय हो,' खड्काले उल्लेख गरेका छन्।
यो घटनाले नेपाली कांग्रेस संसदीय दलभित्रको आन्तरिक समीकरण र नेतृत्व शैलीबारे नयाँ बहस सुरु गरेको छ ।