काठमाडौँ । नेपाली कांग्रेसले पार्टी अनुशासन कडाइ गर्दै असहयोग गर्ने नेतामाथि स्पष्टीकरण माग्ने निर्णय गरेको छ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा केही नेताहरूलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको हो।
बैठक समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।समितिको निर्णयअनुसार महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका वन मन्त्री देवकरण प्रसाद कलवार (सन्तु), पूर्व केन्द्रीय सदस्य तथा कोशी प्रदेशका मन्त्री प्रदिप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेश उपसभापति एवं प्रदेश सभा सदस्य राजु खनाललाई स्पष्टीकरण सोधिएको छ।
त्यसैगरी मधेस प्रदेशका प्रदेश सांसदहरू जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई पनि अनुशासन उल्लंघनसम्बन्धी आरोपमा स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरिएको समितिले जनाएको छ।
