काठमाडौँ । निजामती कर्मचारीहरूको व्यक्तिगत विवरण व्यवस्थापन गर्ने निकाय राष्ट्रिय किताबखाना (निजामती) पूर्ण रूपमा डिजिटल प्रणालीमा प्रवेश गरेको छ। बुधबारदेखि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको किताबखानाले आफ्ना सबै सेवाहरू अनलाइनमार्फत सञ्चालनमा ल्याएको हो।
यो नयाँ व्यवस्थासँगै अब निजामती कर्मचारीहरूले आफ्नो विवरण हेर्न, अद्यावधिक गर्न वा अन्य प्रशासनिक कामका लागि किताबखानाको कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ।
किताबखानाका अनुसार अब कर्मचारीहरूले सिट रोल दर्ता र व्यक्तिगत विवरण अद्यावधिक जस्ता महत्वपूर्ण सेवाहरू आफू कार्यरत रहेकै स्थानबाट अनलाइनमार्फत लिन सक्नेछन्। यसले समयको बचत हुनुका साथै प्रशासनिक प्रक्रियामा समेत सहजता ल्याउने विश्वास गरिएको छ।
पूर्ण रूपमा डिजिटल सेवा सुरु भएको अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बुधबार राष्ट्रिय किताबखानाको अनुगमन गरेकी छन् । अनुगमनका क्रममा मन्त्री रावलले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी, पारदर्शी र गुनासोरहित बनाउन निर्देशन दिईन् ।
“सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने सरकारको लक्ष्य अनुसार किताबखानाले यो महत्वपूर्ण कदम चालेको छ,“ मन्त्री रावलले भन्नुभयो, “यसले सेवाग्राही कर्मचारीलाई सहज बनाउनुका साथै कार्यसम्पादनमा समेत सुधार ल्याउनेछ।“
यो प्रणालीको कार्यान्वयनसँगै राष्ट्रिय किताबखानाको सेवा प्रवाहमा व्यापक सुधार आउने र कर्मचारीहरूको अभिलेख व्यवस्थापन थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
