विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवद्र्धन नगरी राष्ट्रिय पूँजीको विकास सम्भव नहुने बताएका छन् । बुधबार विराटनगरमा विराट व्यापार संघको २६औं साधारण सभा तथा १३औं अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले उक्त कुरा बताए ।
मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई हतोत्साहित गर्ने कुनै पनि कार्यको प्रदेश सरकारले सधैं विरोध गर्ने स्पष्ट पार्दै,उनले संविधान र कानुन विपरीत प्रतिशोध तथा पूर्वाग्रह राखेर काम नगर्न आग्रह गर्दै देशको समग्र विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए ।
“पछिल्लो निर्वाचनपछि देशमा राजनीतिक स्थिरता कायम भएको छ,” मुख्यमन्त्री कार्कीले भने, “अब आर्थिक समृद्धि हासिल गर्ने बलियो आधार तयार भएको छ, यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ।”
कार्यक्रममा सहभागी व्यवसायीहरूले अन्तर्राष्ट्रिय परिस्थितिका कारण व्यापार व्यवसाय अत्यन्तै कठिन अवस्थामा पुगेको गुनासो पोखेका थिए। यस्तो संकटको समयमा सरकारले निजी क्षेत्रलाई थप दबाबमा राख्नु उपयुक्त नहुने उनीहरूको तर्क थियो।
व्यवसायीहरूले खुला सिमानाका कारण बढ्दै गएको चोरी तस्करीले वैधानिक व्यापार धराशायी भएको भन्दै नियन्त्रणका लागि सम्बन्धित निकाय थप संवेदनशील हुनुपर्ने माग समेत गरेका छन्।
यसैबीच, विराट व्यापार संघको १३औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले प्रमोद अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। नयाँ कार्यसमितिले विराटनगरको व्यावसायिक हकहित र सिमानाकाका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ।