काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा केन्द्र (ग्लोबल एजुकेसन हब) बनाउन सकिने सम्भावना रहेको बताएका छन्। उनले विद्यार्थी विदेश पलायनलाई केवल “ब्रेन ड्रेन” को नकारात्मक दृष्टिले मात्र नहेरी यसलाई सिकाइ र अवसरको रूपमा पनि बुझ्नुपर्नेमा जोड दिएका छन्।
विद्यार्थी बसाइँसराइ नीति, आकांक्षा र विश्वव्यापी गतिशीलतासम्बन्धी सेमिनारमा बोल्दै उनले प्लस–टु पछि विद्यार्थी विदेश जान रोक्ने खालका प्रतिबन्धात्मक नीतिले समस्या समाधान नहुने स्पष्ट पारे। उनका अनुसार विदेशमा अध्ययन गर्नु नेपाली संस्कृति र परम्पराको पनि हिस्सा हो। “सिक्नका लागि आफ्नो ठाउँ छोडेर बाहिर जाने परम्परा हाम्रो सभ्यताको अङ्ग हो,” उनले भने।खनालले उच्च पदस्थ व्यक्तिहरूको शैक्षिक पृष्ठभूमि उदाहरण दिँदै विदेशमा अध्ययन गरेको ज्ञान र अनुभवलाई देश विकासमा प्रयोग गर्न सकिने बताए। उनले विदेशमा पढेका युवालाई प्रणालीभित्र समेट्न राज्य अझ खुला हुनुपर्ने आवश्यकता औंल्याए।
उनले नेपालका विश्वविद्यालयहरूको शैक्षिक अनिश्चितता, ढिलो परीक्षा प्रणाली र अव्यवस्थित क्यालेन्डरले पनि विद्यार्थी विदेश जान बाध्य भएको बताए। “चार वर्षको कोर्स ६ वर्ष लाग्ने अवस्था छ, त्यसैले विद्यार्थी विदेश रोज्छन्,” उनले भने। खनालले नेपाललाई शैक्षिक केन्द्र बनाउन सकिने सम्भावना औंल्याउँदै पोखरालगायत क्षेत्रमा विश्वस्तरीय विश्वविद्यालयका क्याम्पस स्थापना गर्न सकिने धारणा राखे। उनका अनुसार यसले अनुसन्धान, नवप्रवर्तन र रोजगारी सिर्जनामा ठूलो योगदान दिन सक्छ। अन्त्यमा उनले सरकार र निजी क्षेत्र मिलेर विदेशमा रहेका नेपाली तथा विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्ने “ब्रिज” निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए।