काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।
सर्वसम्मत दलको नेता चयन भएपछि उनी खड्कालाई भेट्न गल्फुटारस्थित निवास पुगेका हुन् ।
खड्कानिकट स्रोतले दुई नेताबीच सोमबार बेलुकी ५ बजेपछि भेट भएको पुष्टि गरेको छ । तर, खड्काले भने मंगलबारमात्रै सामाजिक सञ्जाल एक्समा भेटवार्ताको तस्बिर सार्वजनिक गरेका छन् ।
खड्काले एक्समा भेटको फोटो राख्दै लेखेका छन्, ‘निवर्तमान सहमहामन्त्री, नेपाली कांग्रेसका नेता, मेरा मित्र–प्रिय भाइ मा. भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रुपमा निर्वाचित हुनुभएकोमा हृदयदेखि नै हार्दिक बधाईसहित कार्यकालको पूर्णसफलताको शुभकामना व्यक्त गर्दछु ।’
आङ्देम्बे सोमबार सर्वसम्मत कांग्रेस संसदीय दलको नेता चयन भएका थिए ।