धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आठौँ बजेट अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख नजिर मियाँले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बजेट अधिवेशन आह्वान गरेका हुन ।
प्रदेश सभा सचिवालयका अनुसार, प्रदेश प्रमुखबाट प्राप्त पत्रका आधारमा आगामी वैशाख १७ गते दिउँसो ४ बजे प्रदेश सभाको बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र प्राप्त भएपछि सचिवालयले प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यहरूलाई सोही अनुसार जानकारी गराएको छ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार, गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुखले यो अधिवेशन बोलाउनुभएको हो। यसअघि सरकारले बजेट अधिवेशनका लागि आवश्यक तयारी पूरा गरिसकेको छ।
प्रदेश सभाको आठौँ अधिवेशनका रूपमा रहेको यस बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ। बजेट अधिवेशन भएकाले यसमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल हुनेछ।