काठमाडौँ । चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले नेपाली कांग्रेसका सभापति गगन थापालाई खुला पत्र सार्वजनिक गरेका छन् । सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि उनले उक्त पत्र सार्वजनिक गरेका हुन् ।
यादवले “बदलिएको कांग्रेस” भन्ने नारा व्यवहारमा देखाउन सभापति थापालाई चुनौती दिएका छन् । पत्रमार्फत उनले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव र वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीको मौनतामाथि पनि प्रश्न उठाएका छन् । रौतहट डिभिजन वन कार्यालयमा भइरहेको अनियमितताबारे केही दिनअघि नै वनमन्त्रीमार्फत मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको भए पनि प्रदेश सरकारले कुनै चासो नदिएको भन्दै आफू खुला पत्र लेख्न बाध्य भएको यादवले बताएका छन् ।
पत्रमा डिभिजन वन अधिकृत हेमन्त साहमाथि महोत्तरीमा कार्यरत रहँदा सरकारी वन निजी स्वार्थमा प्रयोग गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको र मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ । हाल रौतहटमा सरुवा भएर आएपछि पनि वन क्षेत्र दोहन र अनियमितता दोहोरिएको आरोप लगाइएको छ । यसअघि बुझाइएको ध्यानाकर्षण पत्रमा काठ आपूर्ति प्रक्रियामा गडबडी, मिलसँग मिलेमतो गरी कम मूल्यमा काठ लिलाम, कमिसन लिएको, सामुदायिक वनको बजेट दुरुपयोग, अवैध रुख कटान तथा प्रमाण नष्ट गर्न आगजनी गराएको जस्ता आरोपहरू उल्लेख गरिएको थियो । यादवले यी विषयमा प्रमाण आफूसँग रहेको दाबी गरेका छन् ।
उनले तत्काल स्थलगत अनुगमन, अडिट रिपोर्ट परीक्षण, बैंक स्टेटमेन्ट जाँच तथा संलग्न कर्मचारीमाथि कारबाही गर्न माग गरेका छन् । साथै डीएफओ साहलाई तुरुन्त प्रदेशमा झिकाएर उच्चस्तरीय छानबिन गर्नुपर्ने बताएका छन् । चुरे दोहन भइरहँदा प्रदेश सरकार मौन बसेको र गुनासो सुनुवाइ नगरेको भन्दै यादवले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले समाधान नभए अख्तियारमा जाने र प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष पनि विषय उठाउने चेतावनी दिएका छन् । यादवले सार्वजनिक गरेको खुला पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिको बोर्डमा समेत टाँसेका छन् ।