काठमाडौँ । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
संसदीय दल निर्वाचन समितिका संयोजक तथा कांग्रेस सहमहामन्त्री प्रकाश रसाइलीले आङदेम्बे निर्विरोध निर्वाचित भएको जानकारी दिएका हुन्।
कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया विगत दुई महिनादेखि चर्चा र रस्साकस्सीको विषय बनेको थियो। संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दै आएका थिए। आकांक्षी धेरै हुँदा सहमति जुटाउन पार्टी नेतृत्वलाई केही सकस परेको थियो।
तर, सोमबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले आन्तरिक गृहकार्य गरी आङदेम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटाएको हो। कार्यसम्पादन समितिबाट सहमति जुटेसँगै संसदीय दलको बैठकले उनलाई औपचारिक रूपमा चयन गरेको हो।