काठमाडौँ । सरकारले सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रशासनिक सुधार, सुरक्षा निकायको नेतृत्व र व्यापारिक सहजीकरणसँग सम्बन्धित विषयमा महत्वपूर्ण कदम चालेको हो।
बैठकले ‘भन्सार नियमावली, २०८३’ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यसका साथै, सुरक्षा निकायको शीर्ष नेतृत्वमा पनि फेरबदल गर्दै सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, सरकारले सुरक्षण मुद्रण केन्द्रलाई व्यावसायिक रूपमा थप सक्षम बनाउने उद्देश्यले नयाँ निर्णय गरेको छ। अब सुरक्षण मुद्रण केन्द्रले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यावसायिक कारोबार गर्न पाउने गरी सार्वजनिक निकायको सूचीमा समावेश गरिने भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार, यससम्बन्धी आवश्यक सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
सरकारका प्रवक्ता पोखरेलले मन्त्रिपरिषद्का यी निर्णयहरूले प्रशासनिक कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।