काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ)ले वर्तमान सरकार ‘पूर्ण रूपमा असफल’ भइसकेको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गरिबमाथि गरिएको व्यवहारलाई लिएर सरकार ‘पूर्ण रूपमा असफल’ भइसकेको दाबी गरेका हुन् ।
उनले लेखेका छन्, 'सरकार असफल भैसकेको छ, अब अवसान मात्रै बाँकी छ। गरीबको गाँस खोस्ने र बास भत्काउने सरकार असफल सरकार हो।' राईले सुकुमवासी बस्ती हटाउने क्रममा राज्यले देखाएको बल प्रयोगप्रति आपत्ति जनाउँदै यसलाई अमानवीय कार्यको संज्ञा दिएका छन्। 'गरीबलाई लात हान्ने प्रवृत्तिको कुनै पनि हालतमा पुष्टि गर्न सकिन्न,' उनले भने ।
उनले राज्यले गरीबमाथि दमन गर्न प्रहरी र सेना प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको आरोप लगाए। 'गरीबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक सरकार होइन,' उनको भनाइ छ ।साम्पाङले भ्रष्टाचारमा संलग्न भएर महलमा बस्नेहरूलाई चुनौती दिँदै गरीबलाई बाँच्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन्।