काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेछ ।
बैठकमा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस गर्ने तयारी छ ।
आजको बैठकले नेताहरूको कार्यविभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।
यही वैशाख ३ गते बसेको बैठकले संयोजक दाहाल र सहसंयोजक नेपाललाई प्रस्ताव तायर पार्ने जिम्मेवारी दिएको थियो । यसैगरी, बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र सांगठनिक जिम्मेवारीको बाँडफाँट लगायत विषयमा छलफल हुने बुझिएको छ।
जिम्मेवारी बाँडफाँट गर्दा साविकका दुई पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सन्तुलन कायम गर्ने मापदण्ड बनाइएको छ । नेकपामा सांगठनिक संरचनामा प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाटै तोक्ने तयारी छ ।
बैठकले विधान बमोजिम १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल हुने नेता ज्वलाले जानकार दिए ।