काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ सरकारले नेपाली जनताको भावना र चाहना अनुसार जिम्मेवारीबोध गरेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो । पछिल्लो समय ‘जेनजी’ (न्भल श्) आन्दोलनपछि नेपालमा युवा नेतृत्वको सरकार बनेको र यसले विश्वलाई नै अनुकरण गर्न सक्ने स्थिति पैदा गरेको भन्दै अध्यक्ष दाहालले सरकारलाई जनताको भावनाको कदर गर्दै अघि बढ्न शुभकामना दिए ।
कार्यक्रममा अध्यक्ष दाहालले अव्यवस्थित बजार र बिचौलियाहरूको अन्त्य गर्दै उपभोक्ता अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । पारदर्शिता अभिवृद्धि र लगानीमैत्री वातावरण सिर्जना गर्न राज्यका निकायहरू सक्रिय हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसतर्फ संसद्ले निरन्तर निगरानी, खबरदारी र आवश्यक मार्गदर्शन प्रदान गर्नेछ ।”
उहाँले विविध कारणले अर्थतन्त्रमा गम्भीर असर परेको औँल्याउँदै उद्यमी र उपभोक्ताहरूलाई राहत दिन अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने धारणा राख्नुभयो । “कर प्रणाली लगायतका नीतिगत संरचनामा पुनरावलोकन गर्दै समयको मागसँगै परिमार्जन गर्न अपरिहार्य छ,” उनले बताए ।
विश्व परिवेश, विशेषगरी मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव परेको अध्यक्ष दाहालको भनाइ छ । उनले बजारमा स्थिरता कायम गर्न सरकारले प्रभावकारी रूपमा कूटनीतिक पहल चाल्नुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले एमआरपी लागू गर्न सकिने सम्भावना र यसका चुनौतीबारे महासंघले निरन्तर उठाउँदै आएको विषयले बजारमा पारदर्शिता र उपभोक्ता हित संरक्षणमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले साना तथा मझौला उद्योगी–व्यवसायीहरूको हकहित संरक्षणका लागि आवश्यक पर्ने कानुन निर्माणमा सङ्घीय संसद्को तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।