काठमाडौँ । नेकपा एमालेकी सांसद सजिदा खातुन सिद्धिकीले सरकार र जनताको अपेक्षाबीच सन्तुलन कायम गर्न आवश्यक रहेको बताएकी छन्। न्यूज एक्सप्रेसद्वारा आयोजित ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै उनले जनताको मागलाई ‘डिमाण्ड साइड’ र सरकारलाई ‘सप्लाइ साइड’सँग तुलना गर्दै यी दुईबीच समन्वय नभए शासन प्रभावकारी हुन नसक्ने उल्लेख गरिन्।
सरकार सञ्चालन गर्दा जनताको आवश्यकता केन्द्रमा राखेर निर्णय लिनुपर्नेमा उनले जोड दिइन्। सांसद सिद्धिकीले आफूले पार्टी र संसद दुवैमा जिम्मेवारी बहन गरिरहेको बताउँदै देश र जनताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, कानुन, न्याय तथा मानव अधिकार समितिमा रहेर नीति निर्माणमा सक्रिय भूमिका खेलिरहेको जानकारी दिइन्। उनले कर्णाली र मधेशका मुद्दालाई विशेष रूपमा उठाउने उद्देश्य रहेको बताउँदै देशलाई सशक्त र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको धारणा पनि व्यक्त गरिन्।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले स्थानीय तहको संरचना र कार्यप्रणालीप्रति असन्तुष्टि जनाएका छन्। उनले स्थानीय तहमा कर्मचारी व्यवस्थापन र नियुक्ति प्रक्रियामा विकृति देखिएको आरोप लगाउँदै पार्टी कार्यकर्ता भर्ना गर्ने केन्द्रजस्तो बनेको टिप्पणी गरे। शाहीले स्थानीय तहमा कर्मचारी संख्या अत्यधिक भएको र बजेटको ठूलो हिस्सा तलबमै खर्च हुने अवस्था रहेको बताए। उनले स्थानीय तहलाई प्रभावकारी बनाउन नियमनकारी संयन्त्र बलियो हुनुपर्नेमा जोड दिए। साथै, उनले संसदलाई सक्रिय रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकारलाई विधेयक ल्याएर छलफल गर्न आग्रह गरे। वास्तविक सुकुम्बासीहरूको समस्या समाधानमा पनि गम्भीर बन्नुपर्ने उनको भनाइ छ।