काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरूले संघीयताको प्रभावकारी कार्यान्वयन र दलहरूबीच संवादको आवश्यकता रहेकोमा जोड दिएका छन्। न्यूज एक्सप्रेस मिडियाद्वारा आयोजित ‘संवाद एक्सप्रेस’ कार्यक्रममा बोल्दै नेकपा नेता माधव सापकोटाले संघीयता कार्यान्वयनको समग्र समीक्षा आवश्यक रहेको बताए।
उनले संघीय संसद र संघीय सरकारले यस विषयमा विशेष जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै संविधानअनुसार बन्नुपर्ने धेरै कानुन अझै निर्माण हुन नसकेको बताए। उनका अनुसार संघीयताको प्रभावकारिता बढाउन कानुनी र नीतिगत सुधार अपरिहार्य छ। उनले वर्तमान अवस्थालाई संघीयताको पूर्ण अभ्यास हुन नसकेको संकेतका रूपमा व्याख्या गरे। त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का नेता सन्तोष परियारले दलहरूबीच संवादको अभावले लोकतान्त्रिक अभ्यास कमजोर भइरहेको बताए।
उनले संघीयतालाई केवल तीन तहको सरकारको संरचनामा सीमित नभई राज्य रूपान्तरण र जनअधिकार सुनिश्चित गर्ने माध्यमका रूपमा बुझ्नुपर्ने धारणा राखे। परियारले राजनीतिक संस्कार, इमानदार प्रयास र सहकार्यबिना संघीयता सफल हुन नसक्ने उल्लेख गर्दै लोकतन्त्र सुदृढ बनाउन संवाद अनिवार्य भएको बताए। कार्यक्रममा सहभागी नेताहरूले संघीयताको सैद्धान्तिक लक्ष्य जनताको अधिकार सुनिश्चित गर्नु भएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न सबै पक्षले गम्भीर पहल गर्नुपर्नेमा जोड दिएका छन्।