काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ । आइतबार दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरूले त्यसबारे छलफल गरेका छन् । छलफलबाट सम्भव भएसम्म सोमबार सर्वसम्मतिबाट नभए निर्वाचन प्रकृयाबाट दलको नेता चयन गरिने कांग्रेस सांसद भरतबहादुर खड्काले बताए ।
छलफलमा संसदीय मामिला अध्ययन तथा कानुनी विषयमा संसद् समन्वय बोर्ड बनाउने निर्णयमेत गरिएको उनले बताए । प्रतिनिधि सभामा पुगेका ६ मध्ये नेपाली कांग्रेसले मात्रै सरकार गठनको महिना बित्दा पनि दलको नेता चयन गर्न सकेको छैन । यसका लागि ११ वैशाखमा निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको थियो । संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धी हुन ।
दलको नेता चयनका लागि गठित निर्वाचन समितिका संयोजक तथा सह–महामन्त्री प्रकाश रसाइली स्नेहीले प्रक्रिया अघि बढेको बताए । कार्यतालिका अघि बढाए पनि कांग्रेसले दलको नेता सहमतिमै टुंग्याउनेगरी छलफल गरिरहेको छ । तर सहमति नजुटे निर्वाचनलगत्तै मतगणना गरेर नजिता घोषणा गर्ने तयारी छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन । तीमध्ये दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यको मुख्य चर्चा छ । कांग्रेस प्रमुख प्रतिपक्षी दल भएकाले संवैधानिक परिषद्मा समेत प्रतिनिधित्व हुने व्यवस्था छ ।