काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउने उद्देश्यसहित ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन्।
उनका अनुसार संसदमा प्रस्तुत हुने विधेयकहरूमा नागरिक, विषय विज्ञ तथा सरोकारवालाबाट प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले यो पहल सुरु गरिएको हो। आचार्यको आधिकारिक वेबसाइटमार्फत सञ्चालनमा आएको उक्त प्लेटफर्ममा संसदमा दर्ता भएका विधेयकहरू अध्ययन गर्न, छलफल गर्न तथा दफा–दफामाथि सुझाव र संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ। सरकारको मुख्य भूमिका विधेयक निर्माण र प्रस्तुत गर्नु भए पनि त्यसलाई परिष्कृत र जनजीवनसँग जोड्ने जिम्मेवारी संसद, जनप्रतिनिधि र नागरिक सबैको साझा दायित्व भएको आचार्यको भनाइ छ। उनका अनुसार बन्द कोठाभित्र तयार हुने कानुनले समाजको वास्तविकता पूर्ण रूपमा समेट्न नसक्ने भएकाले आम नागरिक, विज्ञ र सरोकारवालाको सक्रिय सहभागिता आवश्यक छ। यही सोचका आधारमा ‘विधेयक प्रयोगशाला’ सुरु गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।