काठमाडौं । काठमाडौंको सुकुमवासी बस्ती हटाउने सरकारी निर्णयको विरोध गर्दै संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण गराएको छ। मोर्चाले शुक्रबार काठमाडौंको बनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा पुगेर उक्त निर्णय कार्यान्वयन नगर्न माग गरेको हो।
मोर्चाका प्रतिनिधिहरूले रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। पत्र बुझाउने क्रममा रास्वपाले मानव अधिकार उल्लंघन हुने गरी कुनै पनि कार्य नगर्ने र यस विषयमा सरकारसँग छलफल भइरहेको जवाफ दिएको मोर्चाका महासचिव अर्जुन कुँवरले जानकारी दिए। “हामी रास्वपाबाट सकारात्मक सन्देश आउनेमा विश्वस्त छौँ, तर बस्तीका नागरिकहरू एकताबद्ध भएर बस्नुपर्ने अवस्था छ,“ महासचिव कुँवरले भने।
सरकार एकतर्फी र जबर्जस्ती ढङ्गले अघि बढ्न खोजे कडा प्रतिकार गर्ने चेतावनी मोर्चाले दिएको छ। मोर्चाले जबर्जस्ती उठिबास गराउने सूचना तत्काल फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको प्रक्रिया तत्काल सुरु गरी लगत प्रमाणीकरण र व्यवस्थापनको कार्य अघि बढाउनुपर्ने, भूमि र आवासको अधिकार सुनिश्चित गर्नुपर्ने जस्ता माग अघि सारेका छन् ।
सरकारले विकल्पविना नै सुकुमवासी बस्ती हटाउन खोजेको भन्दै मोर्चाले यस्तो कदम स्वीकार्य नहुने स्पष्ट पारेको छ।