काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले लोकतन्त्र केवल प्रणालीमा सीमित नभई जनताको दैनिक जीवनमै अनुभूत हुने बनाउनुपर्ने बताएका छन्।
लोकतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले लोकतान्त्रिक आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे। थापाले लोकतान्त्रिक संघर्षबाट हासिल उपलब्धिहरू इतिहासमा मात्र सीमित रहन नहुने भन्दै ती उपलब्धि जनताको दैनिकीमा प्रत्यक्ष रूपमा देखिनु र महसुस हुनुपर्ने बताए। उनले अझै पनि जनअपेक्षा र उपलब्धिबीच दूरी रहेको स्वीकार गर्दै यसको समाधान लोकतन्त्रको विकल्पमा नभई अझ सुदृढ, उत्तरदायी र जनमुखी प्रणालीमै निहित रहेको स्पष्ट पारे। संविधानको मूल भावना व्यवहारमा लागू गर्दै सुशासन र विकासमार्फत जनविश्वास जित्नु अहिलेको प्रमुख आवश्यकता भएको उनले जोड दिए। साथै, अपेक्षा र उपलब्धिबीचको खाडल घटाउँदै लोकतन्त्रलाई अझ प्रभावकारी बनाउनु नै आजको चुनौती भएको उनको भनाइ छ।