काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। संसदीय दलको विधान अनुमोदन भएसँगै दलको नेता चयनका लागि सक्रियता बढेको हो।
सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार दलको नेता चयन गर्न शुक्रबार निर्वाचनको कार्यक्रम तय गरिएको छ। ३८ सदस्यीय संसदीय दलमा नेताका लागि मुख्यगरी तीन जना नेताहरूले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।
पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य संसदीय दलको नेताका लागि मुख्य आकांक्षीका रूपमा देखिएका छन्। केसी र आङ्देम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् भने दलको नेता चयनमा प्रत्यक्ष र समानुपातिक सांसदहरूको मत निर्णायक हुनेछ।
पार्टीभित्र ’पुस्तान्तरण र रूपान्तरण’को आवाज उठिरहेको सन्दर्भमा युवा सांसदहरू योगेश गौचन थकाली, निश्कल राई र बासना थापालाई पनि आकांक्षीका रूपमा हेरिएको छ। यद्यपि, वरिष्ठ नेताहरूलाई दलको नेता बनाएर युवा सांसदहरूलाई प्रमुख सचेतक र सचेतक बनाउने गरी समेत आन्तरिक छलफल चलिरहेको बुझिएको छ।
निर्वाचनको प्रक्रिया सुरु भए पनि पार्टी नेतृत्व सकेसम्म सहमतिकै आधारमा दलको नेता चयन गर्न चाहन्छ। त्यसका लागि महामन्त्री प्रदीप पौडेल लगायतका नेताहरूलाई सांसदहरूसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
“दल नेताका आकांक्षी धेरै भए पनि मुख्यगरी ३ जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ। पार्टीले सहमतिका लागि निरन्तर प्रयास गर्दैछ। सहमति नभए निर्वाचन कार्यतालिकाअनुसार प्रतिस्पर्धा हुनेछ,“ एक सांसदले भने। उनका अनुसार उम्मेदवारी दर्ता शुक्रबार बिहान ११ः०० देखि १२ः०० बजेसम्म,सहमति नभएमा शुक्रबार अपराह्न निर्वाचन हुनेछ ।
कांग्रेसले २०६४ सालपछिका निर्वाचनमा संसदीय दलको नेता प्रतिस्पर्धाबाटै चयन गर्दै आएको अभ्यास छ। यदि शुक्रबारको मनोनयन दर्तासम्म सहमतिको वातावरण नबनेमा निर्वाचन प्रक्रिया अघि बढ्नेछ।