बाजुरा । जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारको स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई हेलिकप्टरमार्फत थप उपचारका लागि पठाइएको हो।
सुत्केरी भएपश्चात् अत्यधिक रक्तस्राव हुनुका साथै सालनालमा समस्या देखिएपछि उनको अवस्था गम्भीर बनेको थियो। जिल्ला अस्पतालमा थप उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
दुर्गम क्षेत्रमा समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै सेनाको हेलिकप्टरमार्फत उनको उद्धार गरिएको हो।