काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु आयोगको संवैधानिक दायित्व भएको बताएका छन्।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको कार्यक्रममा बोल्दै उनले हाल सम्पन्न निर्वाचन आवधिक नभई अग्रिम रूपमा घोषणा गरिएको बाध्यात्मक निर्वाचन भएको स्पष्ट पारे। उनका अनुसार पाँच वर्षमा हुनुपर्ने निर्वाचन करिब ४० महिनामै सम्पन्न गर्नुपर्ने अवस्था राष्ट्रपति घोषणापछि सिर्जना भएको हो। निर्वाचन घोषणा गर्दा तोकिएको मितिमा काम सम्पन्न गर्न नसकिने आशंका भए पनि आयोगले सीमित समय र स्रोत साधनको अधिकतम उपयोग गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उनले बताए। उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशभर अस्थिरता, आगजनी र तनावपूर्ण अवस्था रहेको उल्लेख गर्दै त्यस्तो परिस्थितिमा पनि निर्वाचन सम्पन्न गर्नु आवश्यक रहेको धारणा राखे। भण्डारीका अनुसार निर्वाचन नहुँदा मुलुकको राजनीतिक भविष्य नै अनिश्चित हुने भएकाले सबै चुनौतीका बीच आयोग निर्वाचनमा केन्द्रित भएको हो।