काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा राजदूत तोरुले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
दुवै पक्षबीच कानून सुधारका क्षेत्रमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको छ। साथै सूचना प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० जस्ता तीव्र रूपमा विकास भइरहेका क्षेत्रलाई नियमन गर्न उपयुक्त कानूनी संरचना आवश्यक रहेको विषयमा पनि जोड दिइएको छ। भेटमा नेपाल–जापान सहकार्यका थप सम्भावित क्षेत्रहरू पहिचान गर्ने र आपसी आवश्यकता अनुसार समन्वय गर्दै अघि बढ्ने विषयमा समेत विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।