काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधान संशोधनसम्बन्धी आफ्नो विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन्।
‘संविधान संशोधन कार्यशाला २०८३’ अन्तर्गत उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्नुपर्ने धारणा अघि सारेका छन्। उनका अनुसार, जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित हुने कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ। त्यसैगरी, कार्यकारी प्रमुखले आफ्नो सरकार गठन गर्दा मन्त्रीपरिषद् आफैं चयन गर्ने व्यवस्था रहने उनले प्रस्ताव गरेका छन्। मन्त्रीपरिषद् बनाउँदा समाजका विभिन्न जाति, समुदाय, लिङ्ग र विविधताका आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन्।
उनको प्रस्तावमा सरकार सञ्चालनका स्पष्ट कार्यविधि बनाउने, कानुन निर्माण तथा कार्यान्वयनको निगरानी गर्ने, सरकारको कामकाजको मूल्याङ्कन गर्ने र आवश्यक सुझाव दिने संयन्त्र पनि समावेश छ। त्यस्तै, यदि कार्यकारी प्रमुखले शक्ति दुरुपयोग वा निरंकुश व्यवहार देखाएमा संसद्मार्फत महाअभियोग लगाएर पदमुक्त गर्न सकिने व्यवस्था राख्नुपर्ने पनि उनले प्रस्तावमा उल्लेख गरेका छन्।
