काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी गरेका छन् । बुधबार मात्रै प्रलोपा छाडेका किराँती हर्क साम्पाङसँग निरन्तर संवादमा रहेको बुझिएको छ ।
करिब ५ महिना प्रलोपामा रहेका किराँती अब श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी रहेको बुझिएको छ । गत २१ फागुनमा सम्पन्न निर्वाचनमा किराँतीले श्रम संस्कृति पार्टीका अध्यक्ष सम्पाङ सहित भोजपुरमा ध्रुवराज राई, खोटाङमा आरेन राईलाई सहयोग गरेका थिए ।
यता हर्क साम्पाङ किराँतीलाई पार्टीमा स्वागत गर्न तम्मतयार छन् । गत मंसिरमा किराँती सहित बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी, माओवादी केन्द्र छोडेका जनार्दन शर्माको प्रगतिशील अभियान र राष्टिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारलगायत मिलेर प्रगतिशिल लोकतान्त्रिक पार्टीको स्थापना गरिएको थियो ।
७ मंसिर २०८२ मा एकता घोषणा गरेर प्रलोपाले पाँच सदस्यीय अध्यक्ष परिषद बनाएको थियो । प्रलोपाको अध्यक्ष परिषद्मा सन्तोष परियार, सुदन किराँती, दुर्गा सोब, ओजस्वी भट्टराई र सुरेन्द्र प्रसाद जैसवाल थिए । तर २१ फागुनमा सम्पन्न चुनावमा प्रलोपाले अस्तित्व निर्माण गर्न नसकेपछि नेताहरु तितरबितर भएका हुन् ।