काठमाडौँ । नेपाली कांग्रेसका नेता इन्दु प्रकाश शर्मा ले पार्टीभित्रको वर्तमान अवस्था र नेतृत्वशैलीबारे कडा टिप्पणी गरेका छन्। उनका अनुसार कांग्रेस तत्काल फुट्ने सम्भावना नभए पनि अब युवा र पुराना पुस्ताबीच स्पष्ट अन्तरद्वन्द्व देखिन थाल्नेछ। विगतमा ०५८ सालमा पार्टी विभाजन हुँदा ठूलो क्षति भोग्नुपरेकाले अहिले त्यस्तो अवस्था दोहोरिने सम्भावना कम रहेको उनले बताए।
उनले पार्टीभित्र मौलिकता हराउँदै गएको भन्दै त्यसलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार केही बाह्य शक्तिहरूको प्रभावका कारण सानो समूह अलगिन सक्ने सम्भावना भने रहन्छ। कांग्रेसभित्र संवादको कमी रहेको भन्दै शर्माले वर्तमान सभापति गगन कुमार थापा संवाद गर्न इच्छुक नदेखिएको अनुभव आफूले गरेको बताए। उनले लोकतन्त्रको मूल आधार नै संवाद भएको उल्लेख गर्दै निर्वाचनअघि सबै पक्षसँग छलफल गरेको भए थप सिट जित्न सकिने दाबी गरे। यस सन्दर्भमा उनले भारतीय नेता राजीव गान्धी र अटल बिहारी बाजपेयी बीचको सम्बन्ध उदाहरणका रूपमा प्रस्तुत गर्दै मतभेद हुँदाहुँदै पनि निरन्तर संवाद कायम राख्ने परिपाटीबाट सिक्नुपर्ने बताए।
शर्माले कांग्रेस र जनताबीच सूचना आदान–प्रदानमा पनि कमजोरी रहेको उल्लेख गरे। जनतासँग नजिकको सम्बन्ध कायम राख्न प्रभावकारी सञ्चार अत्यन्त आवश्यक रहेको उनको भनाइ छ। बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नाराप्रति उनले व्यंग्य गर्दै त्यसमा सिर्जनात्मकता र मौलिकताको अभाव रहेको बताए। यस्तो नारा कार्यकर्तामा उत्साह जगाउने खालको हुनुपर्ने भए पनि त्यो अनुभूति नआएको उनले टिप्पणी गरे। त्यसैगरी उनले पूर्व सभापति शेर बहादुर देउवा र वर्तमान नेतृत्वबीच कार्यशैलीमा खासै फरक नदेखिएको दाबी गर्दै नबदलिएको पार्टीले देश परिवर्तन गर्न नसक्ने बताए। उनले अबको समय केवल परिवर्तनको होइन, तीव्र विकासको भएको उल्लेख गर्दै पुराना नेताहरूले जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे। साथै, नेताहरूले सक्रिय राजनीतिक जीवनपछि आफ्नै जन्मथलो फर्किएर संगठन निर्माणमा योगदान दिनुपर्ने उनको सुझाव छ।