विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको एकता सुदृढ गर्न पुराना विवाद र तिक्ततालाई बिर्सेर अघि बढ्न आह्वान गरेका छन्। बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई एकताबद्ध बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएका हुन्।
निर्वाचनमा पार्टीले बेहोरेको नतिजाको समीक्षा गर्दै सभापति थापाले निर्वाचनका क्रममा देखिएका असन्तुष्टिहरूलाई चिर्दै कार्यकर्तालाई एकजुट हुन आग्रह गरे। “हामीले अब पुराना विवाद र बहसहरूलाई पन्छाएर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता छ,” उनले भने। सबै तहका नेतृत्वले निर्वाचनमा देखिएको तिक्तता मेटाउन सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
सभापति थापाले युवा पुस्तालाई पार्टीमा आकर्षित गर्नु अहिलेको मुख्य चुनौती र आवश्यकता रहेको औंल्याए। उनले ३० वर्षमुनिका युवाहरूलाई कांग्रेससँग जोड्नका लागि विशेष अभियान सञ्चालन गरिने जानकारी दिए। राजनीतिप्रति उदासिन देखिएका युवाहरूलाई पार्टीको मूलधारमा ल्याउन नयाँ ढङ्गले काम गर्ने उनको योजना छ।
सरकारका कामकारबाहीबारे स्पष्ट पार्दै सभापति थापाले भने, “सरकारका सकारात्मक कामको हामी समर्थन गर्छौँ, तर यदि सरकारले जनताको हित विपरीत वा कमजोर काम गरेमा त्यसको सदन र सडक दुवै ठाउँबाट सशक्त आलोचना गरिनेछ।” पार्टीले प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउने सङ्केत उनले गरे।
कार्यक्रममा सहभागी उम्मेदवार तथा जिल्ला सभापतिहरूले भने निर्वाचनमा पार्टीले पराजय भोग्नुको मुख्य कारण पार्टीभित्रकै आन्तरिक विवाद र ’अन्तर्घात’ रहेको भन्दै नेतृत्वसमक्ष गम्भीर गुनासो राखेका थिए। उनीहरूले अन्तर्घात गर्नेहरूमाथि कारबाहीको मागसमेत गरेका छन्।