काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का घटनालाई लिएर आफ्नो पार्टीले पहिल्यै व्यक्त गरेका आशंकाहरू हालका घटनाक्रमले सही साबित हुँदै गएको बताएका छन् ।
बुधबार च्यासलमा नेकपा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भदौ २४ गते योजनाबद्ध रूपमा विध्वंस मच्चाइएको एमालेको धारणा रहेको र त्यसबारे जनतामाझ पर्याप्त रूपमा स्पष्ट पार्न नसक्दा हालको राजनीतिक परिणाम भोग्नुपरेको बताए । उनले निर्वाचनमा सफलता हासिल गर्ने पक्षलाई बधाई दिँदै जनादेशको सम्मान गरेको उल्लेख गरे । साथै, जनताको भावनाअनुसार काम गर्न नयाँ नेतृत्वलाई शुभकामना पनि दिए ।
पोखरेलले भने, “भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनामा षड्यन्त्र थियो भन्ने हाम्रो पार्टीको धारणा थियो, तर त्यो जनतामाझ प्रभावकारी रूपमा स्थापित गर्न नसक्दा आजको परिणाम आएको हो। अहिले जसले सफलता हासिल गरेका छन्, हामीले जनादेश स्वीकार गर्दै बधाई दिएका छौं।”उनले छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमहरूले एमालेले उठाएका आशंकाहरू सही देखिन थालेको दाबी गरे ।
सुशासनसम्बन्धी प्रश्नमा उनले एमालेका नेता–कार्यकर्ताको सम्पत्तिको छानबिन गर्नुपर्ने भन्दै, हाल सरकारमा रहेका नेताहरूको सम्पत्तिको पनि समान रूपमा जाँच हुनुपर्ने बताए । तथ्यले एमालेका नेता–कार्यकर्ता इमानदार रहेको प्रमाणित गर्ने उनको दाबी थियो । उनले भने, “सुशासनको विषयमा आरोप लगाइयो। हाम्रा नेताहरूको सम्पत्ति जाँच गरियोस्, अहिलेका सरकारमा रहेका नेताहरूको पनि सम्पत्ति छानबिन गरियोस्। तथ्यले एमालेका नेता–कार्यकर्ता इमानदार छन् भन्ने देखाउँछ।” पोखरेलले गलत सूचना र प्रविधिको दुरुपयोगमार्फत जनमत प्रभावित पारिएको कारण एमाले जनताबाट केही टाढिएको स्थिति बनेको पनि उल्लेख गरे।