काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका गम्भीर समस्याहरू समाधान गर्न र क्षेत्रलाई सुधारको बाटोमा लैजान चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी छिन्। बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रावलले सहकारी संस्थाहरूमा विद्यमान अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको अभावलाई चिर्न विज्ञहरूको साथ खोजेकी हुन्। सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र आम बचतकर्ताका लागि विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण रहने भन्दै मन्त्री रावलले सुधारको अभियानमा साथ दिन आग्रह गरिन्। छलफलमा विशेष गरी सहकारीमा देखिएका आर्थिक बेथिति र त्यसको नियन्त्रणका उपायहरूबारे गहन विमर्श भएको छ।
मन्त्री रावलले मन्त्रालयले निकट भविष्यमै बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गर्न लागेको जानकारी दिँदै सो कार्यलाई कसरी प्रभावकारी र न्यायोचित बनाउन सकिन्छ भन्ने विषयमा चार्टर्ड एकाउन्टेन्टहरूसँग राय–सुझाव मागेकी छिन्। बचत फिर्ताको मोडालिटीलाई व्यावहारिक बनाउन विज्ञहरूको परामर्श आवश्यक रहेको मन्त्रीको भनाइ छ। छलफलमा सहभागी नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) का अध्यक्ष निलबहादुर सारू मगरसहितका पदाधिकारीहरूले सहकारी क्षेत्रका चुनौतीहरू समाधान गर्न संस्था पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएका छन्। उनीहरूले मन्त्रालयको सुधार योजनामा आवश्यक प्राविधिक तथा विज्ञतापूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य लगायतका उच्च पदाधिकारीहरूको समेत सहभागिता थियो।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट अध्यक्ष निलबहादुर सारू मगर सहित आनन्दराज शर्मा वाग्ले, उमेशराज पाण्डे, अमन उप्रेती, हेमकुमार काफ्ले, हरिकुमार सिल्वाल, सुनिल देवकोटा, पीयुष आनन्द, भरतकुमार श्रेष्ठ, कलमणी लम्साल, प्रदिपकुमार यादव सहभागी थिए। साथै, संस्थाका कार्यकारी निर्देशक विमल डंगोल, निर्देशक किरणकुमार खत्री र सहनिर्देशक अस्मिता ढकालको पनि उपस्थिति थियो।
सरकारले पछिल्लो समय सहकारी क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न सरोकारवालासँगको छलफललाई तीव्रता दिएको छ। मन्त्री रावलको यो पहललाई सहकारी क्षेत्र सुधारतर्फको एउटा महत्त्वपूर्ण र निर्णायक कदमका रूपमा हेरिएको छ।