काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र व्यापक एकताका लागि सबै साथीहरूसँग संवादमा रहेको बताएका छन् । बुधबार कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले पार्टी एकताबद्ध भएर १५ औँ महाधिवेशनमा जाने विश्वास व्यक्त समेत गरे ।
उनले भने, ‘पार्टीको अहिलेको अवस्थालाई पनि मध्यनजर गरेर सबै पार्टीका साथीहरूले यसलाई बुझ्नु पनि हुन्छ। पार्टीभित्र व्यापक एकताको पहलको हामी गरिरहेका छौँ, हामी सबै मिलेर १५ औँ महाधिवेशन तिर जान्छौँ त्यसका लागि सबै साथीहरूसँग संवादमा छु।’
उनले संविधानको कार्यान्वयन, सुशासन र जनतासँग जोडिएका विषयहरूमा सरकारलाई समर्थन रहेका बताए।
उनले भने, ‘हामी सरकारले गरेका कामहरू माथि प्रश्न उठाउँदै गर्दा पनि तथ्यमा आधारित भएर प्रश्न उठाउँछौँ। हामी कतिपय कुराहरूमा विकल्प सहित हाम्रो आफ्नो सुझावहरू दिन्छौँ। तर जहाँ संविधान कार्यान्वयन गर्ने कुराको सन्दर्भमा, विधिको शासनका सन्दर्भमा, डेमोक्रेसीका आधारभूत कुराहरूको सन्दर्भमा र जनहितका विषयहरूका सन्दर्भमा जहाँ सरकार चुक्छ, त्यहाँ सबैभन्दा दरिलोसँग नेपाली कांग्रेस पार्टी उभिन्छ।’
यस्तै उनले भदौ २४ गतेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष र न्यायिक छानबिन गर्न सरकारसँग माग गरे । ‘हामीले भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेका छौँ,’ थापाले भने, ‘सरकारले हाम्रा मागहरू पूरा गरेन भने ती माग कसरी पूरा गराउने र आवाजलाई कसरी ठुलो बनाउने भन्ने हामीलाई राम्रोसँग थाहा छ ।’
सरकारलाई सचेत गराउँदै उनले कुनै पनि नेपाली नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सम्मान गर्ने बताए । तर, अनुसन्धानका नाममा राज्यका निकायहरूले कानुनको पालना गर्नुपर्ने उनको भनाइ थियो ।