काठमाडौँ । कूटनीतिक राहदानीसम्बन्धी विषयमा सांसदहरूले माग उठाएपछि प्रतिनिधिसभामा छलफल भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी की सांसद खुस्बु ओलीका अनुसार सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरूसँग यस विषयमा छलफल गरेका छन्। उनले सांसदहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएको भन्दै त्यसलाई कसरी अघि बढाउने भन्ने विषयमा राय–सुझाव संकलन गरिएको जानकारी दिइन्।
छलफलका क्रममा राहदानी ऐन २०७६ र सम्बन्धित नियमावलीअनुसार विशेष सरकारी कार्यक्रम वा विशेष जिम्मेवारीमा खटिएका पदाधिकारीलाई मात्र कूटनीतिक राहदानी प्रदान गर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। तर, सांसदहरूले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा भ्रमणमा सहभागी हुनुपर्ने भएकाले वर्तमान कानुनी व्यवस्थाअनुसार राहदानी उपलब्ध गराउन कठिनाइ भएको विषय पनि उठाइएको छ। सभामुखले आगामी दिनमा सांसदहरूलाई आवश्यक सहजीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा विभिन्न दलका सचेतक तथा प्रमुख सचेतकहरूबाट सुझाव संकलन गर्ने उद्देश्यले छलफल अघि बढाएको बताइएको छ।