काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले शैक्षिक संस्थाहरूबाट विद्यार्थी संघ–संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारको पछिल्लो निर्णयप्रति कडा आपत्ति जनाएका छन्। खड्काले सरकारको यो कदमलाई ’अधिनायकवादी’ संज्ञा दिएका हुन्।
आज एक विज्ञप्ति जारी गर्दै नेता खड्काले वर्तमान सरकारमा रहेका नेतृत्वहरू स्वयं विद्यार्थी आन्दोलन र लोकतान्त्रिक स्वतन्त्रताको जगबाट स्थापित भएको स्मरण गराउँदै सरकारको निर्णय विरोधाभाषपूर्ण रहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘जुन लोकतान्त्रिक स्वतन्त्रताको उपयोग गरेर आज सरकारमा बालेन शाहजस्ता युवा नेतृत्व स्थापित भएका छन्, त्यही सरकारबाट लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी संघ–संगठन र स्ववियुको अस्तित्वमाथि प्रहार गरी खारेज गर्ने निर्णय गर्नु आफैंमा विरोधाभासपूर्ण मात्र होइन, सरकारको अधिनायकवादी कदमका रूपमा बुझ्न हामी बाध्य छौं।’
नेता खड्काले सुधारको नाममा इतिहासको अपमान र लोकतन्त्रका आधारस्तम्भ भत्काउने कार्य तत्काल बन्द गर्न सरकारलाई आग्रह गरेका छन्। उनले विद्यार्थी संगठनहरूको भूमिकालाई निषेध गरेर लोकतन्त्र बलियो हुन नसक्ने जिकिर गरेका छन्।
साथै, उनले सरकारलाई कडा चेतावनी दिँदै भनेका छन्, ‘इतिहासको सम्मान र लोकतन्त्र रक्षाका लागि विद्यार्थी शक्ति पुनः सडकमा उत्रन बाध्य भएमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मा स्वयं सरकारले ब्यहोर्नुपर्नेछ।’
सरकारले ल्याएको पछिल्लो शासकीय सुधार कार्यसूचीअन्तर्गत विद्यालय तथा विश्वविद्यालय परिसरमा दलीय विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने र उनीहरूको ठाउँमा ’विद्यार्थी काउन्सिल’ (क्तगमभलत ऋयगलअष्)ि गठन गर्ने तयारी गरेको छ। सरकारको यो कदमको प्रमुख प्रतिपक्षी दललगायत विभिन्न विद्यार्थी संगठनहरूले कडा विरोध गर्दै आएका छन्।

-1776773987-1776775536.jpeg)