काठमाडौँ । काठमाडौँमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। तर बैठकमा गृहमन्त्री सुधन गुरुङबारे भने कुनै निर्णय नभएको सरकारले जनाएको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि समिति गठन गर्ने निर्णय गरेको छ।
साथै नेपाल विशेष सेवा ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र मतदाता नामावली ऐन संशोधनका विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ। त्यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरू नियुक्ति तथा मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ। सरकारले विभिन्न ऐन संशोधन र प्रशासनिक संरचनासम्बन्धी निर्णय गर्दै बैठक सम्पन्न गरेको छ।
यी हुन पाँच निर्णय
१. नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय र भुवन कुमार दाहाल काठमाडौँ सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने ।
२. नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
३. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
४. मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
५. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिंह खडा धादिङ एवं रोशन बहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।