काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको विषयमा निष्पक्ष छानबिनको माग गर्दै ‘जेन–जी मुभमेन्ट’ले प्रहरी प्रधान कार्यालय (आईजीपी) समक्ष लिखित उजुरी दर्ता गराएको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित सो उजुरी इमेलमार्फत प्रहरी मुख्यालयमा पठाइएको हो।
जेन–जी मुभमेन्टले गृहमन्त्री गुरुङ पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र न्याय सम्पादनमा अवरोध सिर्जना हुने भन्दै उनलाई तत्काल हिरासतमा राखेर अनुसन्धान अघि बढाउन माग गरेको छ। आफ्नै विरुद्धको अनुसन्धान प्रक्रियामा पदमै रहनु ’स्वार्थको द्वन्द्व’ र ’प्राकृतिक न्यायको सिद्धान्त’ विपरीत हुने भन्दै मुभमेन्टले यस विषयमा गम्भीर आपत्ति जनाएको हो।
मुभमेन्टले गृहमन्त्री गुरुङमाथि विभिन्न गम्भीर आरोपहरू लगाएको छ। पानी वितरणको नाममा स्वयंसेवक बनेर समग्र ‘जेन–जी आन्दोलन’लाई नै हाइज्याक गरेको, आन्दोलनलाई हिंसात्मक दिशातिर धकेलेको र राज्यविहीनताको अवस्था सिर्जना गर्न खोजेको आरोप उनीमाथि छ। यसका अतिरिक्त, आन्दोलनको दुरुपयोग गरी अवैध धन आर्जन गरेको, बिचौलिया र विवादास्पद दलालहरूसँग साठगाँठ गरेको तथा ७६ जना शहीदहरूको बलिदान र घाइतेहरूको भावनाको अपमान गरेको जस्ता गम्भीर दाबीहरू मुभमेन्टले गरेको छ।
प्रवक्ता विजय शाहका अनुसार, उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत दिइएको छ। सरकारको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिमाथि नै गम्भीर आरोप लागेपछि र उनीमाथि गिरफ्तारीको माग गर्दै उजुरी दर्ता भएपछि यसले राजनीतिक वृत्तमा थप तरंग सिर्जना गरेको छ। हालसम्म प्रहरी प्रधान कार्यालय वा गृह मन्त्रालयको यस विषयमा औपचारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ।