काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पछिल्लो समय फुटपाथ व्यवसायी र सुकुम्बासीहरूमाथि राज्यले गरिरहेको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमार्फत उनले राज्य जनताको अभिभावक हुनुपर्नेमा उल्टै दमनकारी बनेको आरोप लगाएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै साम्पाङले भने, “सरकारलाई मेरो सल्लाह छ, नागरिकलाई घाँटीमा न्याँक्ने र घोक्र्याउँदै लखेट्ने काम तत्काल बन्द गर। शान्ति सुरक्षाको जिम्मा लिएको सरकारले नागरिकको रोजीरोटी खोस्नु अमानवीय हो।”
उनले विशेषगरी रत्नपार्क क्षेत्रमा साँझको समयमा व्यापार गर्ने साना व्यवसायीहरूलाई बिना विकल्प लखेट्दा उनीहरू निकै मर्कामा परेको उल्लेख गरे। “सबैभन्दा पहिलो मान्छेको गाँस, बास र कपासको मौलिक हक हुन्छ। पेट भर्नकै लागि मान्छेले संघर्ष गरिरहेको हुन्छ,” उनले तर्क गरे, “यदि फुटपाथका पसल हटाउने हो भने, सरकारले ती नागरिकलाई पहिला उचित विकल्प दिनुपर्छ। काम गर्न नदिने, दोकान थापेर खान नदिने हो भने मान्छे बाँच्ने कसरी?”
सरकारको पछिल्लो कदमले समाजमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिँदै साम्पाङले भने, “सरकारले कानुनको नाममा गरिबको पेटमा लात हान्दा त्यो मान्छे भोलि आपराधिक गतिविधिमा संलग्न हुन सक्छ। भोक लागेपछि मान्छेले सरकारको नियमलाई पर्खिँदैन। पशुपति क्षेत्रमा डोजर चलेपछि एक परिवार अहिले पुलमुनि बास बस्न बाध्य छ। यस्तो दयनीय अवस्थामा राज्यले ती परिवारको व्यवस्थापन कसरी गर्छ?”
जनताको मतबाट निर्वाचित प्रतिनिधिहरूले आफ्नो हैसियत बिर्सिन नहुने साम्पाङको भनाइ थियो। उनले प्रश्न गरे, “जनताले भोट दिएर प्रधानमन्त्री, गृहमन्त्री भएका हौँ। जनताभन्दा ठूलो कोही हुन्छ र? यदि सडकमा रहेका नागरिकलाई राज्यले व्यवस्थित गर्न सकेन भने यो राज्य नै असफलताको मार्गमा जान्छ।”
राज्यको काम नागरिकलाई लखेट्ने नभई, उनीहरूको गाँस, बास र कपासको उचित प्रबन्ध गर्ने रहेकोमा उनले जोड दिएका छन्।