काठमाडौँ । प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हानी हत्या गर्ने धम्की दिएको अभियोगमा एक युवक पक्राउ परेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यका उच्चपदस्थ अधिकारीलाई लक्षित गरी ज्यान मार्ने धम्की दिएको आरोपमा बझाङको थलरा गाउँपालिका–४ मयलका २० वर्षीय साजन बिष्ट (सानुभाई) पक्राउ परेका हुन्।
सानुभाई नामको फेसबुक आईडी प्रयोग गर्दै बिष्टले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता रमेश लेखक र पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई तत्काल रिहा नगरे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई गोली हान्ने धम्की दिएका थिए। उनले काठमाडौँमा एके–४७ जस्ता अत्याधुनिक हतियारहरू भित्रिसकेको दाबी गर्दै आपराधिक योजना सार्वजनिक गरेका थिए।
यस्तो गम्भीर प्रकृतिको धम्की आएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सक्रियता बढाएको थियो। सोही क्रममा सिनामंगल क्षेत्रबाट बिष्टलाई पक्राउ गरिएको कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। पक्राउ परेका उनीविरुद्ध साइबर कसुरमा थप अनुसन्धान अघि बढाउन प्रहरीले उनलाई साइबर ब्युरोको जिम्मा लगाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बिष्ट पछिल्लो पाँच वर्षदेखि भारतको बैंगलोरमा बस्दै आएका थिए। त्यहाँ उनी एक फेन्सी स्टोरमा काम गर्ने गरेको पाइएको छ। भारतमा रहँदा पनि उनी विभिन्न अपराधमा संलग्न रहेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। उनले कसको उक्साहटमा वा कुन उद्देश्यले यस्तो धम्की दिएका हुन् भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।