काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय फिर्ता नलिएको स्पष्ट पारेको छ। पार्टीका कतिपय नेता र कार्यकर्ताबीच यस विषयमा भइरहेका चर्चा–परिचर्चालाई खण्डन गर्दै समितिले आफ्नो अडान कायमै रहेको जनाएको छ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको समितिको बैठकपछि अनुशासन समितिका संयोजक तारामान गुरुङले स्पष्टीकरण सोध्ने यसअघिको निर्णय फिर्ता लिने विषयमा कुनै पनि छलफल नभएको स्पष्ट पारे।
खड्कालाई स्पष्टीकरण सोधिएको पाँच दिन मात्रै भएको र सात दिनको समयसीमा अझै बाँकी रहेको उनले स्मरण गराए। संयोजक गुरुङले भने, ’हामी पार्टीको विधान र प्रक्रियाअनुसार काम गरिरहेका छौँ। विधानभन्दा माथि गएर निर्णय बदल्ने अधिकार हामीसँग छैन, त्यसैले सात दिन नपुग्दासम्म यस विषयमा थप जवाफ दिन मिल्दैन।’
समितिले पार्टीलाई अनुशासित र मर्यादित ढंगले अघि बढाउने उद्देश्यले मात्रै काम गरिरहेको संयोजक गुरुङले जोड दिए। समितिले कुनै व्यक्तिलाई लक्षित गरेर नभई पार्टीको गरिमा र अनुशासन कायम राख्नका लागि यस्तो कदम चालिएको उनको भनाइ छ।