काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी) का सेवामा व्यापक सुधारका काम सुरु भएको मन्त्रालयले जानकारी दिएको छ । सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि टेलिकम प्रयोगकर्ताको डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ । सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागु गर्ने प्रक्रिया अघि बढेको छ ।
अब प्रयोगकर्ताले लिएको डेटा प्याक ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्नेछन् । यससँगै ‘पे–एज–यू–गोज विकल्प उपलब्ध हुनेछ । जसले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याक खरिद गर्नेबारे विकल्पसहित छनोटको सुविधा दिनेछ ।
प्राधिकरणका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार हाल प्रणाली परीक्षणको चरणमा रहेको छ र चाँडै पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ । उनका अनुसार यूएसएसडीमार्फत खरिद गरिने डेटा प्याकमा तीनदेखि पाँच दिनभित्र यो सुविधा लागु हुनेछ भने नेपाल टेलिकमको मोबाइल एपमार्फत सेवा प्रयोग गर्ने ग्राहकले एक सातादेखि १० दिनभित्र यसलाई अनुभव गर्न पाउनेछन् ।
मन्त्रालयले अघि सारेको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गत १० बुँदे सुधारात्मक कार्ययोजनामा पनि यो विषय समावेश गरिएको छ । कार्ययोजनाअनुसार नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण र डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ ।