काठमाडौँ। चैत महिनामा परेको वर्षा र उच्च भेगमा भएको हिमपातका कारण यस वर्ष आलु उत्पादन वृद्धि हुने अपेक्षाले रसुवाका किसान उत्साहित देखिएका छन्। विशेषगरी उत्तरी रसुवाका किसानका अनुसार सोमबारको वर्षा र हिमपातले आलुबालीलाई आवश्यक चिस्यान उपलब्ध गराएको छ।
उच्च पहाडी क्षेत्रमा परेको हिउँले जमिनमा नमी कायम राख्ने भएकाले उत्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। गतलाङ क्षेत्रमा उल्लेख्य हिमपात भएको स्थानीय किसान मार लामाले जानकारी दिए। पछिल्ला केही वर्षयता हिमपात माथिल्लो भेगमा मात्र सीमित रहँदै आएको भए पनि यसपटक गाउँ आसपाससम्म हिउँ परेकोले किसानहरू थप आशावादी बनेका छन्। हाल आलुबाली गोडमेल सकेर दाना लाग्ने चरणमा पुगेको अवस्थामा वर्षा हुनु खेतीका लागि उपयुक्त समय मानिएको छ।
गतलाङ क्षेत्रमा आलु खनिसकेपछि बन्दागोभी खेती गर्ने प्रचलन रहेको छ। यसले किसानलाई एउटै सिजनमा दुईवटा बालीबाट आम्दानी लिन सहयोग पुर्याउँदै आएको छ। यहाँ उत्पादन हुने आलु प्रायः असार महिनादेखि बजारमा ल्याइन्छ। कृषि विकास कार्यालयले २०५० सालमै गतलाङ क्षेत्रलाई आलुको पकेट क्षेत्र घोषणा गरेपछि त्यहाँका ५०० भन्दा बढी घरपरिवार आलुखेतीमा निर्भर छन्। आलु बिक्रीबाट प्राप्त आम्दानीले किसानले दैनिक उपभोगका सामग्री, विशेषगरी चामल खरिद गर्ने गरेका छन्। यस वर्ष ३०० ट्रकभन्दा बढी आलु उत्पादन हुने अनुमान किसानहरूले गरेका छन्।