काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आय–व्यय विवरण पारित गरेको छ । क्यानको आज २३ गते सोमबार बसेको बैठकले दोस्रो संस्करणबाट क्यानले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ खुद मुनाफा (बचत) गरेको विवरण सार्वजनिक गरेको हो ।
एनपीएल–२ मा ४७ करोड ३६ लाख ५५९ रुपैयाँ कुल आम्दानी गरेको छ । जसमा कुल २१ करोड ९६ लाख ५ हजार १२३ रुपैयाँ खर्च भएको क्यानल जनाएको छ । आज एक विज्ञाप्ती सार्वजनिक गर्दै सो कुराको जानका्ी गराएको हो ।
फ्रेन्चाइज टोलीलाई बाँडफाँड (५०%)ः १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ भएको थियो । ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ क्यानले खुद नाफा गरेको छ ।
क्यानले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको सम्झौता अवधि सकिन लागेकाले त्यसलाई नवीकरण गर्न र हाल राष्ट्रिय खेलकुद परिषद मातहत रहेको तल्लो मुलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गरिदिन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ । टियु मैदानमा हालै फ्लड लाइट जडान भई पहिलो चरणको काम सम्पन्न भइसकेको छ ।
क्यानको वार्षिक साधारण सभा आगामी २०८३ साल वैशाख २७ र २८ गते कोशी प्रदेशको विराटनगरमा आयोजना गरिने भएको छ । साथै, कार्यकाल सकिएका २० जिल्लाहरूको कार्यसमिति अवधि जेठ मसान्तसम्म थप गरिएको छ र सोही अवधिभित्र अनिवार्य रुपमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिइएको छ ।
आईसीसीको निर्देशन बमोजिम क्यानले यस वर्षदेखि महिला क्रिकेटको विकासका लागि ५ लाख अमेरिकी डलर लगानी गर्ने निर्णय गरेको छ । यो लगानी महिला क्रिकेटलाई थप व्यावसायिक र सुदृढ बनाउन प्रयोग गरिने विज्ञप्तिमा उल्लेख छ ।
