काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद टीका संग्रौलाले बुढीगंगा जलविद्युत आयोजना लामो समयदेखि निर्माण हुन नसकेको विषय प्रतिनिधिसभामा उठाएकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले २० मेगावाट क्षमताको उक्त आयोजना २९ वर्षदेखि अलपत्र अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। आयोजना निर्माणमा भएको ढिलाइका कारण सुदूरपश्चिमका नागरिकले अझै पनि विद्युत् अभावको समस्या भोगिरहेको उनको भनाइ थियो।सांसद संग्रौलाले अछाम र बाजुराको बीचबाट बग्ने बुढीगंगा नदीमा आयोजना रहे पनि आसपासका धेरै गाउँ अझै विद्युत्को पहुँचबाट बाहिर रहेको बताइन्। स्थानीय नागरिक वर्षौंदेखि घरको स्वीच थिचेर नियमित रूपमा बत्ती बल्ने दिनको प्रतीक्षामा रहेको उनले उल्लेख गरिन्।
उनले ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठसँग आयोजना निर्माण कहिलेसम्म सम्पन्न हुने भन्नेबारे प्रश्नसमेत गरिन्। पटक–पटक ठेक्का प्रक्रिया अघि बढे पनि निर्माणले अपेक्षित गति लिन नसकेको भन्दै अब कामलाई तीव्रता दिनुपर्ने उनको माग थियो।सांसद संग्रौलाले बुढीगंगा आयोजनाको आशामा एउटा पुस्ता बितिसक्दा पनि समस्या समाधान नहुनु गम्भीर विषय भएको बताइन्। उनले आयोजना थप ढिलाइ नगरी शीघ्र सम्पन्न गरेर सुदूरपश्चिमका नागरिकलाई विद्युत्को सहज पहुँच सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन्।