काठमाडौँ। मुस्ताङमा फेरि हिमपात भएको छ, जसले कृषक र पर्यटन व्यवसायीलाई खुशी बनाएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, ठिनी लगायत विभिन्न क्षेत्रमा हिमपात भएको हो। विशेषगरी मुक्तिनाथ क्षेत्र, ठिनी भ्यु टावर आसपास र उपल्लो मुस्ताङमा हिउँ अझै जमेको छ।
हिमपातपछि मुस्ताङमा हिउँ खेल्न आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ। जोमसोमका पर्यटन व्यवसायी निशान तुलाचनका अनुसार आन्तरिक पर्यटकको चहलपहल बढ्ने सम्भावना छ। यस वर्ष मुस्ताङमा चौथो पटक हिमपात भएको हो। कृषकहरू पनि खुशी देखिएका छन्, किनभने हिमपात र वर्षाले खेतबारीमा प्राकृतिक सिँचाइ, मलको राम्रो घुलनशीलता र बिरुवाका लागि आवश्यक पोषक तत्व उपलब्ध गराउँछ। वारागुङ मुक्तिक्षेत्र–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार यसले खेतीपातीमा फाइदा पुर्याउँछ।
स्थानीय कृषक पाल्चाङ्ग गुरुङ्गका अनुसार हिमपातपछि पग्लिएको हिउँ खेतबारीमा पुगेपछि मल राम्रोसँग घुल्छ र बोटबिरुवाको वृद्धि तथा उत्पादन बढाउन मद्दत गर्छ। घरपझोङ गाउँपालिका कृषि विकास शाखा प्रमुख रोशन थकालीले स्याउको मुना फुट्न माइनस तापक्रम आवश्यक भएकाले यस पटकको हिमपात स्याउ खेतीका लागि लाभदायक हुने बताए। मुस्ताङमा स्याउ, जौ, गहुँ, उवा र फापर मुख्य बालीका रूपमा लगाइन्छ। यस वर्षको हिमपातले ती बालीको उत्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास कृषकहरूले व्यक्त गरेका छन्।