काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुने गरी कानुन संशोधन गर्न सरोकारवालाले माग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अधिवेशन तथा विश्व सम्मेलनको चौथो सत्र ’राइटस् अफ नेपाली डायस्पोरा एन्ड डिग्निफाइड लेबर माइग्रेसन’मा बोल्दै वक्ताहरूले सो माग गरेका हुन् ।
संविधानले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दिए पनि एनआरएन नागरिकताले नछोएको भन्दै आगामी संसद र सरकारले प्राथमिकताका साथ ऐन संशोधन गरेर गाँठो फुकाउनुपर्ने धारणा उनीहरूको छ । उनीहरूले ब्रिटिस गोर्खा र पीएनओज नेपालीको समस्यालाई पनि नीतिगत रूपमा सम्बोधन गर्न माग गरेका छन् । संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ठूलो माथापच्ची गरेर नेपाली नागरिकलाई आर्थिक समाजिक सांस्कृतिक अधिकार दिने व्यवस्था संविधानमा गरिए पनि अझै कार्यान्वयन हुन नसकेको बताए ।
नागरिकता ऐन आए पनि अन्य ऐनहरू संशोधन नहुँदा कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । कानुन आयोगले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर एकीकृत विधेयक बनाएर सरकारलाई दिएको तर विधेयक अगाडि नबढाइदिँदा अहिले पनि समस्या ज्युँका त्युँ रहेको उनले जनाए । एनआरएनएका अध्यक्ष विनोद कुँवरले एनआरएनएको कार्ड जति पनि गैरआवासीय नागरिकताले काम नगरेको गुनासो गरे । एनआरएनए नागरिकता लिँदा कार्डले पाउने सुविधा पनि कटौती भएको उनले बताए । नागरिकतामा भएका अधिकार कार्यान्वयन हुनुपर्ने र भोटिङ राइट्स पनि दिनुपर्ने उनले बताए।
एनआरएनएका उपाध्यक्ष रामशरण सिम्खडाले प्रवासी नेपालीले भोगिरहेका प्रक्रियागत समस्या सम्बोधन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए । उनले पीएनओको समस्या पनि जगजाहेर रहेको उल्लेख गरे । पिपुल नेप्लिज ओरिजिन (पीएनओ) का महासचिव गोपाल धितालले विभिन्न कालखण्डमा बाहिर गएका पीएनओजहरूले नेपाली पहिचान खोजेको र आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा नेपालसँग जोडिन खोजेको बताए ।
ब्रिटिस गोर्खा नागरिकता अभियानका महासचिव होम किरात सुनुवारले वीर गोर्खालीले संसारको शान्तिका लागि लड्दै आए पनि दुई सय वर्षदेखि अधिकारको संषर्घमा रहेको बताए । लड्दा लड्दा बेलायतमा आवासीय भिसा पाइएको भन्दै उनले दुई सरकारको बीचमा सहमति भएर जाँदा पनि गोर्खालाई संविधानमा सम्बोधन नगर्नु दुखद भएको बताए । गोर्खालीलाई एनआरएनएमा राखेकोमा असहमति रहेको भन्दै दुई सरकारको बीचमा भएको सम्झौताले गएको गोर्खालाई वशंजकै नागरिकता यथावत् हुनुपर्ने बताए ।