काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमै चयन गरिने भएको छ । सोहीअनुसार अध्यक्षका प्रत्याशी रोविन शेरचनले यसअघि दर्ता गराएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहितको उच्चस्तरीय वार्तामा सहमतिका लागि शेरचन अध्यक्षको दौडबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा शेरचनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ । सहमतिअनुसार उनले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन् ।सहमति बनेपछि अध्यक्ष श्रेष्ठले अहिलेको आवश्यकता सहमति भएकाले सोहीअनुसार अघि बढिएको बताउँदै अहिले शेरचनले फिर्ता लिएको र अन्य आकाङ्क्षीहरूलाई पनि मिलाएर चुनाव नगर्नेतर्फ आफूहरूको ध्यान रहेको बताए ।
यसअघि अध्यक्षमा शेरचन र शर्मासहित रविन बज्राचार्यले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । बज्राचार्यको पनि उम्मेदवारी फिर्ता लिन पहल भइरहेको बताइएको छ । यस्तै अन्य पदमा पनि आकांक्षीहरुलाई उम्मेदवारी फिर्ता लिन लगाएर सहमतिको पहल भइरहेको श्रेष्ठको भनाइ छ ।
तर महासचिवका उम्मेदवार रामशरण सिम्खडाले आफूले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । उनले आफू महासचिव चुनाव लड्न तयार रहेको भन्दै सहमति नमान्ने बताए । महासचिवमा चिरन्जिवी खड्काको पनि उम्मेदवारी रहेको छ । केही महिनाअघि विभिन्न समूहमा विभक्त एनआरएनए एकीकृत भएको थियो भने सोही एकीकृत एनआरएनएको शनिबारदेखि १२ औँ महाधिवेशन सुरु हुँदैछ । यसैबिच सहमतिको वातावरण बनेसँगै निर्वाचन समितिले निर्वाचन कार्यतालिका हेरफेर गरेको छ ।