काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन कुमार थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ केन्द्रित आफ्नो क्षेत्रीय प्रतिबद्धता सार्वजनिक गरेका छन्। ‘मेरो प्रतिज्ञा, मेरा अभियान’ शीर्षकमा सार्वजनिक दस्तावेजमार्फत उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तीकरण, दलित अधिकार, विपद् व्यवस्थापन र सांस्कृतिक संरक्षणलाई प्राथमिक प्राथमिकतामा राख्दै लक्षित कार्यक्रम अघि बढाउने घोषणा गरेका हुन्।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका थापाले सर्लाही–४ मा दीर्घकालीन विकासको स्पष्ट रोडम्याप प्रस्तुत गर्दै परिणाममुखी अभियान सञ्चालन गरिने बताएका छन्। उनका अनुसार अबको निर्वाचन एजेन्डा र कार्ययोजनामाथिको प्रतिस्पर्धा हुने उल्लेख गर्दै जनविश्वासलाई ठोस काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता जनाएका छन्।
शिक्षा क्षेत्रमा ‘कापी–कलम अभियान’
थापाले शिक्षा सुधारलाई मूल आधार मानेर ‘कापी–कलम अभियान’ सञ्चालन गरिने बताएका छन्। यसअन्तर्गत विद्यालयमा गुणस्तरीय शिक्षक व्यवस्थापन, छात्रवृत्ति विस्तार, प्राविधिक तथा सीपमूलक शिक्षामा पहुँच वृद्धि र विद्यालय पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिइने उल्लेख छ। आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षा बाट वञ्चित नहुने वातावरण निर्माण गर्ने उनको दाबी छ।
स्वास्थ्यमा पहुँच र निःशुल्क सेवा
स्वास्थ्यतर्फ प्रत्येक स्थानीय तहमा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, सर्पदंश र कालाजारको निःशुल्क उपचार, तथा दुर्गम बस्तीमा मोबाइल क्लिनिक सञ्चालन गरिने योजना अघि सारिएको छ। ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा विस्तार र आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उनले बताएका छन्।
कृषि, रोजगारी र सामाजिक न्याय
कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, उत्पादनको बजार सुनिश्चितता तथा युवामुखी रोजगारी कार्यक्रम सञ्चालन गरिने उनले स्पष्ट पारेका छन्। महिला तथा दलित समुदायको अधिकार सुदृढीकरण, स्वरोजगार कार्यक्रम र सहकारीमार्फत आर्थिक सशक्तीकरण अभियान सञ्चालन गरिने योजना रहेको छ।
विपद् व्यवस्थापन र सांस्कृतिक संरक्षण
सर्लाही बाढी तथा प्राकृतिक विपद्का दृष्टिले संवेदनशील क्षेत्र भएकाले पूर्वतयारी, तटबन्ध सुदृढीकरण र द्रुत उद्धार प्रणाली विकास गरिने प्रतिबद्धता पनि उनले जनाएका छन्। साथै स्थानीय कला, संस्कृति र पहिचानको संरक्षणलाई विकाससँग जोड्ने अवधारणा अघि सारिएको छ।
थापाले ‘प्रतिज्ञा शब्दमा होइन, परिणाममा देखिनेछ’ भन्दै मतदातासँग सहकार्य र निगरानीको अपेक्षा गरेका छन्। सर्लाही–४ मा उनको घोषणाले चुनावी माहोल थप सक्रिय बनाएको छ।