काठमाडौं उपत्यकाको उत्तरी पहाडीभेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको घना वनभित्र लुकेको छ शान्त र रहस्यमय मणिचुड दह ।

प्राकृतिक सुन्दरतासँगै धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिने यो दह वरिपरि चिरपरिचित शहरको कोलाहलभन्दा बिल्कुलै फरक, शान्त वातावरण अनुभूत हुन्छ । शहरी जीवनबाट टाढा प्रकृतिमा रमाउने पर्यटकका लागि यो आदर्श गन्तव्य मानिन्छ ।

पछिल्लो समय यहाँ आन्तरिक पर्यटकहरूको चहलपहल समेत बढ्दै गएको छ ।समुद्री सतहबाट करिब २ हजार ४०० मिटर उचाइमा अवस्थित यो दह पुग्न काठमाडौंको जोरपाटी–साँखु क्षेत्र, गगलफेदी वा सुन्दरीजलबाट करिब तीन घण्टाको उकालो पदयात्रा गर्नुपर्छ ।

पदयात्राका क्रममा घना वन, चिसो हावा र चराचुरुङ्गीको चिरबिराहटले यात्रालाई झन रमाइलो बनाउँछ ।
-1771732938.jpg)
यो क्षेत्र शान्त हाइकिङ र चरा अवलोकनका लागि पनि प्रसिद्ध छ ।
